लघुकथा :-प्रायश्चित

 

कोषवल्लभ रेग्मी

“राम नाम सत्य हो!”-ऊ थकित हुँदै आर्यघाटको सिंडीमा सुस्तायो।आजमात्रै उसले चार लासको दहन गर्यो।ऊ थकित बने पनि सन्तुष्टिनै थियो। बाबू मन्त्रालयका सचिव,आमा बैंकको मेनेजर थिइन्।ऊ परिवारको एक्लो सन्तान।उसले नाम चलेका महङ्गा स्कुलमा पढ्ने अवसर पाए पनि कतै टिकेन। “म धनी बाबुको छोरो,के ठानेका छौ?”-ऊ साथीलाई धम्क्याउँथ्यो।धनको घमण्डले मत्त थियो ऊ।उसको गुण्डागर्दीको कुरै छाडौं।ऊ लागू पदार्थको लतमा लिप्त भयो।आमा बाबुले उसलाई सुधार्न बल,बुद्धि र धन खर्च गरे तर व्यर्थ भयो। ऊ घुर्क्याउँदै बाबू,आमा सँग रुपैयाँ लिन्थ्यो।कत्तिले उसलाई पुगेन।टोलका नामुद ड्रक्सरहरु उसका ग्याङ् थिए।ऊ हप्तौं होटलमा मनलागी गर्थ्यो। एकदिन उसले गरेको खर्चको विल होटलबाट आयो।रुपैयाँले धान्न सकेन।बल्खुमा भएको घरनै बेचेर बाबुले उसको ऋण तिरे।ऊ परिवारको कुलाङ्गार बन्यो। छोराको पीरले आमा पागल बनिन् र प्राणै त्यागिन्।ऊ आमाको क्रिया गर्न पनि आएन।बाबू अह्सय शोकमा डुबे।जागिर छाडे।सबै सकियो। साथीहरूले पनि उसलाई छाडे।ऊ मन्दिरमा जुत्ता चोर्ने ,ईटा बोक्ने,नाली सोर्ने काम गर्दै आएको पैसाले ईच्छा पूरा गर्थ्यो। “तेरो बाबू जस्तै बेवारिसे लास मुर्दा घरमा छ है!”-कसैले उसलाई सुनायो।”हँ!”-ऊ एकछिन अक्मकियो र त्यता दौडियो।उसले बाबू चिन्यो।जीवनमा पश्चातापले ऊ प्रथम पटक रोयो। “बेला बिते पछि रुनुको के अर्थ?यो लासले त छोरा भेट्यो तर अरु५/६ वटा लासका आफन्त खै?”-लास घरको मान्छेले उसलाई भन्यो। ऊ बिगत सोच्दा सोच्दै झसङ्ग भयो।त्यसै दिन देखि उसले बेवारिसे लासको दाहसंस्कार गरेर प्रायश्चित हुने प्रण गरेको थियो।आज सम्ममा उसले ६५ वटा भन्दा माथि बेवारिसे लासहरुको दाहसंस्कार गरिसक्यो। ऊ जुरुक्क उठेर “राम नाम”जप्दै काँधमा रामनामे ओढेर पुन:मुर्दा घर तर्फ लम्कियो।

*************

कोषवल्लभ रेग्मीको परिचय : पिता अविनारायण रेग्मी र माता हेमकुमारी रेग्मीको कोखबाट बि सं २०२१ साल श्रावण २२ गते देउमाइ न. पा. ७ सिद्धिथुम्का इलाममा जन्मनु भई त्यही ठाउँलाई कर्मथलो बनाउँदै आउनु भएका कोषवल्लभ रेग्मीले अाई.एड.सम्मको शिक्षा हासिल गर्नुभएको छ र शिक्षण पेशामा संलग्न हुनुहुन्छ । उहाँ लघुकथा बिधामा बिगत ४ बर्ष देखि लगातार सकृय हुनुहुन्छ भने पद्य र गद्य दुबै कविता विधामा पनि कलम चलाउँदै आउनु भएको छ । उहाँले लेख्नु भएको पहिलो लघुकथा “श्राद्ध” हो । उहाँका रचनाहरू विभिन्न फुटकर पत्रपत्रिकामा प्रकाशित हुनुका साथै “नमस्ते आधुनिक लघुकथा मन्च”ले प्रकाशन गरेको “लघुकथाको सुगन्ध ” नामक संयुक्त सङ्ग्रहमा लघुकथा प्रकाशित भएकाछन् । अन्य संयुक्त सङ्ग्रहहरुमा पनि उहाँका लघुकथाहरु प्रकाशित भएका छन् । हाल सम्म उहाँका कुनै पनि कृति प्रकाशित हुन सकेका छैनन् भने “तर्पण”लघुकथा संग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ ।

सेयर गर्नुहोस

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.