लघुकथा : काकाको घडी
लक्ष्मण अर्याल
“काका तपाईंको नाडी घडी बिग्रेछ । मिलाउनुस् न ।” – नरेन्द्रले काकालाई भन्यो ।
काकाले भने – “यो सही समय हो ।”
नरेन्द्र आश्चर्यमा पर्यो । स्थानीय समयसँग मिलाइएको भित्ते घडीमा दश बजेको छ तर काकाका हातका घडीमा समय मिलेको छैन । एक घण्टा होइन दुई घण्टा होइन तीन घण्टा मिल्दैन भित्ते घडी र काकाका घडीमा ।
काका छ महिना छ दिन विदेश बसेर आएका पनि हुन् । स्वदेशमै छँदा काकाका हातका घडीले सही समय दिन्थ्यो तर जब काका विदेश बसेर फर्किए तब उनका घडी स्थानीय समयसँग मिल्न छाडेको छ । काकाले उतैको समय मिलाएर आए कि भनौं भने काका गएको देश स्थानीय समयभन्दा चार घण्टा छिटो छ ।
काकाका हातका घडी बिग्रिएको कुरा नरेन्द्रले मात्र सङ्केत गरेको होइन दैनिकजसो धेरै मानिसले काकाका हातको घडीले सही समय दिन छाडेको सङ्केत गर्छन् तर हरेक मान्छे निराश हुन्छन् नरेन्द्रजस्तै ।
काका भन्छन् – “घडी सपना हो । सपना देख्न छाड्नुहुन्न । घडीले सपना देखाउँछ । सपना देखाउने घडी समयभन्दा छिटो कुद्नुपर्छ ।”
काकाप्रति हेर्ने दृष्टिकोण सबैको एकै छैन । कोही काकालाई दार्शनिक भनी फुर्क्याउँछन् भने कोही पागल भनी हेप्छन् तर उनी के हुन् नरेन्द्रलाई थाहा छैन ।
काका भन्ने गर्छन् – “सपना देख्दा स्थानीय समयसँग घडी मिल्दैन तर जब सपना पूरा हुन्छ तब सपना देख्नेको घडीसँग स्थानीय समय अङ्कित भित्ताको घडी मिलाउनुपर्ने हुन्छ ।”
मान्छेको स्वभाव हो सपना देख्नु । सपना मात्र देखिरहने तर
पूरा गर्नतिर प्रयत्नशील नरहनु पनि चरित्रदोष हो । नरेन्द्र भन्छ – “हाम्रा काकामा चरित्रदोष छ ।” यसैले काकाको नाडी घडीसँग भित्तेघडीको समयमिलान एउटा उखान बन्ने गरेको छ ।
२०७७ साउन १३