लघुकथा:चाहाना

लघुकथा:चाहाना

“अनिमेष”नीलम कुमार पाैड्याल,बाग्लुङ

श्रीमान छन् भन्नु र नभन्नुमा कुनै तात्विक अन्तर देख्दिनन् सीताले । बिहे पनि डाक्टर सावसँग नै भएको हो । ठुलो बङ्गला , अगाडि माखा लर्कने गाडी , शरिर नै पहेँलपुर पार्न मिल्ने गहना , रोजीरोजी खानेकुरा , काम गर्ने घरमा नोकर ।नपुग केही छैन । तरपनि सधैँ उदासिन र वेचैनीमा देखिन्छन् सीता ।

सीताको उदासिनता र छटपटीको वास्तविक रहस्य थाहा छ त केवल सीतालाई मात्र थाहा छ । सीताको इच्छा , आकंक्षा एवम् चाहना सबै नारीहरुमा हुने चाहना भन्दा कुनै नौलो र फरक छैन । उक्त चाहनालाई जीवनभर साथ दिन बिहे गरेका डाक्टर सावले त बुझेका छैनन् भने बाहिरी दुनियाँले झन् के बुझोस् ।

बिहान उज्यालो नहुँदै निस्कने उनका श्रीमान राती दश एघार बजेसम्म अरुको रोग पत्ता लगाउदै र उपचार गर्दैमा विताउँछन् । जसले श्रीमतीको सामान्य मनो –भावनालाई पनि केलाउन सकेका हुदैनन्। भौतिक सम्पन्नता र के खान्छ्यौ र के लाउछ्याैले मात्र प्रेमले पुर्णता प्राप्त गर्दाे रहेनछ भन्ने कुरा सीताको अनुहारमा छर्लङ्ग देखिन्छ ।

खान नखाइ राती अबेरसम्म श्रीमानको प्रतिक्षामा दियो जलाइ बसेकी सीता जब श्रीमान आएर केही नबोली घुक्रुक्क श्रीमतीको कोखैमा पल्टीएर एक मिनेट नवित्दै घुर्न सुरु गर्छन् । तब निभ्छ प्रतिक्षाको दियो , र सुरु हुन्छ सीताको छटपटी र छटपटीमै ढल्छ रात।

डाक्टर साव भन्दा त घरको रखवारे जलुकेले बरु कुरो बुझ्छ । डाक्टरले ल्याउन नसकेको सीताको खुशी बिस्तारै जलुकेले ल्याइदिन्छ । सीताभित्र गुजुल्टिएर बसेको प्रेमको लहरोलाई जलुकेले टेको लगाइदिन्छ । सीताभित्रको माया दिन दुगुना रात चौगुना जलुकेको दिलभित्र झाँगिन्छ । एकदिन एकाएक जलुके र सीता त्यो भव्य महलबाट गायब हुन्छन् ।

लेखक परिचयः

नीलम कुमार पौड्यालको परिचय : बुबा काशिराम पौड़याल र अामा मणिकर्णिका पौड़यालको कोखबाट बिक्रम सम्बत् २०३८ साउन १ गते जान्मनु भएका नीलम कुमार पौड्यालले इंग्लिशमा र समाजशस्त्रमा स्नातक गर्नु भएको छ भने उहाँको पेशा शिक्षण रहेको छ । उहाँ मानवतालाई नै मान्छेको सही धर्म हो भन्ने विश्वास गर्नु हुन्छ । उहाँले लघुकथा लेख्न थाल्नु भएको धैरै भएको छैन ।उहाँका प्राय: लघुकथाहरू राजनीतिक बिकृति र बिसंगती बिरुद्ध रहेका छन् । उहाँले गोधूली राष्ट्रिय साहित्यिक पत्रिकाको प्रधान सम्पादनको भूमिका निर्वाह गर्दै आऊनु भएको छ । उहाँको पहिलो लघुकथा सङ्ग्रह ” रङ्गमञ्च ” प्रकाशनको तयारीमा छ ।

सेयर गर्नुहोस

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.